स्ववियु निर्वाचन आगामी चैत ५ गते हुने

८ माघ २०८१, मंगलबार, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते हुने सहमति भएको छ।

विद्यार्थी कल्याण परिषद्को बैठक हिजो शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा बसेको थियो। उक्त बैठकमा निर्वाचनको मिति तय गर्ने निर्णय गरिएको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।

यसअघि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक क्यालेन्डरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १५ गते गर्ने योजना रहेको थियो। तर, कानुनी जटिलता आउन नदिन अघिल्लो कार्यकालमा भएको समयमै निर्वाचन गर्ने निर्णय गरिएको हो।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. खड्ग केसीले स्ववियु निर्वाचनको दुई वर्षे कार्यकाललाई ध्यानमा राख्दै आगामी चैत ५ गते निर्वाचन गर्ने सिफारिस त्रिवि कार्यकारी परिषद्लाई गरिएको बताए। उनका अनुसार, “वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल चैत ५ गते पूरा हुन्छ, त्यसैले कानुनी समस्या नआओस् भनेर यही मितिमा निर्वाचन गर्न प्रस्ताव गरिएको हो।”

२०७९ साल चैत ५ गते भएको स्ववियु निर्वाचनपछि, दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको थिएन। २०६५ साल चैत ६ गतेको निर्वाचनपछि २०७३ साल चैत १५ गते मात्रै अर्को निर्वाचन सम्पन्न भएको थियो। त्यसपछि, २०७९ चैत ५ गते देशभरि स्ववियु निर्वाचन सम्पन्न भए पनि नौवटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।

आगामी स्ववियु निर्वाचन त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ। यस निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।

0 Comments

Leave a comment

Latest News

View All

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

Tags

© 2025 FinTech Technology. All Rights Reserved.